बैशाख २१, २०७९ बुधबार

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से फेरि २३ सय अंकभन्दा तल झरेको छ । यसअघि गत मंसिर २७ गते परिसूचक २३ सयमुनि झरेको थियो । बुधबार ३१.७६ अंक घटेसँगै नेप्से २२७५ अंकमा कायम भएको छ । दिनभर कुल १ अर्ब २६ करोड रुपैयाँको कारोबार भयो ।

बुधबार सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १३, विकास बैंक ८७, फाइनान्स ३४, होटल तथा पर्यटन ४०, जलविद्युत् ५९, जीवन बीमा २८६, उत्पादन ४४, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २१०, अन्य ३१ र ब्यापार उपसमूह ४३ अंकले घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो । १७७ कम्पनीको मूल्य घट्दा ४ को भने स्थिर रह्यो । जल्पा सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने ग्रीनभेन्चरको सबैभन्दा धेरै ९.३६ प्रतिशत घटेको छ । अरुणभ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी, नबिल बैंक, टेलिकम र निफ्रा कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।