बैशाख २२, २०७९ बिहिबार

 देशका कतिपय स्थानमा आज पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

मौसमविद्का अनुसार आज देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । 

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पुर्वानुमान गरिएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । 

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।