काठमाडौं स् नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार र बिहीबारको सुनुवाइपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
अदालतले कारण देखाउ आदेश जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अब मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ।
धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको थियो ।
वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नवनियुक्त आइजिपी सिंहलाई काम गर्न कुनै बाधा नपर्ने भएको छ।
