बैशाख २३, २०७९ शुक्रबार

खराब ब्याटिङसँगै जिम्बावे 'ए' सँगको पहिलो एकदिवसीय खेलमा नेपाल १३६ रनमा समेटिएको छ।

त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ३१.३ ओभरमा अलआउट हुँदै मात्र १३६ रन बनायो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करन केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्र सिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आसिफ र आरिफ शेख समान ५-५,रोहित पौडेल ३, आदिल आलम २ सन्दीप लामिछाने ४ र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अभिजित रहे। 

जिम्बाम्बेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र चेपहास जुवाओले समान २-२ विकेट लिए।