बैशाख २४, २०७९ शनिबार

नेपालले जिम्बावे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जीत हात पारेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले जिम्बावेमाथि ९ विकेटको फराकिलो अन्तरको जीत निकालेको हो।

जितसँगै तीन खेलको सिरिजमा १-१ को बराबरी भएको छ।

त्रिवि मैदानमा जिम्बावेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले १ विकेट गुमाएर ११.२ ओभरमै पार गर्‍यो।

नेपालको जितमा ओपनर सुनील धमलाले ३८ रन र आसिफ शेखले नटआउट ३४ रन जोडे। धमलाले ३८ बलमा ६ चौका र आसिफले ३१ बलमा ६ चौका नै हाने। विनोद भण्डारी ४ रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.५ ‌ओभरमा ८७ रनमै अलआउट भयो।

उसका लागि जोनाथन काम्पबेलले सबैभन्दा बढी २७ रन जोडे। ब्राड इभान्सले नटआउट २० रन र केफास जुहाओले १० रन जोड्दा अन्य ८ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट।

बलिङमा नेपालका करण केसी र सोमपाल कामीले ३-३ विकेट लिए। करणले ८ ओभरमा ३ मेडन राख्दा १७ रन दिए भने सोमपाले ७ ओभरमा १६ रन खर्चिए।

कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे। उनले ८.५ ओभरमा २६ रन दिए भने १ मेडन राखे।

सागर ढकालले १ विकेट हात पारे। उनले ८ ओभरमा २७ रन दिए। अब निर्णायक तथा अन्तिम एकदिवसीय आगामी सोमबार हुनेछ ।