बैशाख २८, २०७९ बुधबार

काठमाडौँ । यही बैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउनेछन् । आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

नयाँ मतदातालाई आज र भोलि परिचयपत्र बाँडिने
निर्वाचन आयोगले जनाएको छ । यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने प्रवक्ता पौडेलले जानकारी दिए । मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन् । मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यही दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ ।