फिलिपिन्सको राष्ट्रपतिमा ६४ वर्षीय पूर्वसिनेटर फर्डिनान्ड मार्कोस जुनियर निर्वाचित भएका छन् । उनी पूर्वराष्ट्रपति तथा तानाशाही फर्डिनान्ड मार्कोसका छोरा हुन् ।
त्यसैगरी, राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । पूर्वराष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले चुनावी तालमेल गरेर राष्ट्रपति र उपराष्ट्रपति पदका लागि आफ्ना छोरा र छोरीलाई उम्मेदवार बनाएका थिए ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपतिमा निर्वाचित मार्कोस जुनियरले ५६ प्रतिशत मत पाएका छन् । यो उनका निकटतम प्रतिस्पर्धीको भन्दा दोब्बर हो । आयोगका अनुसार मार्कोस जुनियरले प्रतिस्पर्धी वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडोको भन्दा १ करोड ६० लाखभन्दा बढी मत पाएका हुन् ।
राष्ट्रपतिसहित देशभरबाट झन्डै १८ हजार प्रतिनिधि चयनका लागि फिलिपिन्समा सोमबार मतदान भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, सांसद तथा स्थानीय प्रतिनिधिहरू चयनका लागि चुनाव गरिएको हो ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि लोकतन्त्रलाई थप सुदृढ बनाउनेलगायतका प्रतिबद्धतासहित प्रतिस्पर्धामा उत्रेका थिए । त्यस्तै, कोरोनाका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय उनका प्रमुख एजेन्डा छन् । फिलिपिन्सको राष्ट्रपतिका लागि १० जना चुनावी मैदानमा थिए ।