काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल लिभरपुलले आफनो उपाधि होड कायम राखेको छ। मंगलबार राति भएको खेलमा एस्टन भिल्लालाई २-१ ले पराजित गर्दै लिभरपुलले सिटी माथिको दबाब कायम राखेको छ।
भिल्लाको मैदानमा भएको खेलमा लिभरपुल सुरुवातमानै १-० ले पछि परेको थियो। तर उसले एस्टन भिल्लाको अग्रता लामो समय टिक्न दिएन र पुनरागमन जित निकाल्दै सिटी समान ८६ अंक बनाउन सफल भयो। अब लिभरपुलले २ खेल खेल्न बाँकी रहँदा सिटीको हातमा भने तीन खेल रहेको छ।
खेलको तेस्रो मिनेटमा डुग्लास लुइजले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, छैटौं मिनेटमा जोएल माटिपले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए। टीमका लागि निर्णायक गोल भने ६५ औं मिनेटमा साडियो मानेले संभव बनाए।
जितपछि लिभरपुलले ३६ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा आफुलाई कायम राखेको छ। एक खेल कम खेलेको सिटीको पनि ८६ अंकनै रहेको छ। तर गोल अन्तरमा अघि रहँदै सिटी शिर्ष स्थानमा रहेको छ। पराजित एस्टन भिल्लाको भने ४३ अंक जोडेर ११ औं स्थानमा रहेको छ।