काठमाडौँ । बैशाख २८ । जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धि यस शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेल्सियसमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ।
विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलिले सोमबार अबेर सार्वजनिक गरेको एक आँकलनअनुसार तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ।
गत वर्ष गरिएका केही आँकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए । एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो ।
सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औँ शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ। बेलायतको मौसम विज्ञान कार्यालयले संयोजन गरेको अध्ययन टोलीको आँकलनअनुसार सन् २०२६ को अन्त्यसम्म विश्वले सर्वाधिक गर्मीको सामना गर्न सक्नेछ।