भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ । २५६६ औँ बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोलि लुम्बिनी आइपुगेका छन्।
भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अति विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको जानकारी दिए।
उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। गत बैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमानसमेत यही भएको छ।
बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्। मोदी हेलिकप्टरबाट लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम छ।
लुम्बिनीमा पूजाअर्चनापछि मोदीले भारतीय लगानीमा बन्न लागेको गुम्बाको शिलान्यास गर्ने छन्। मोदीसँग परराष्ट्र मन्त्री नारायण खड्काले शिष्टाचार भेट गर्नेछन्।
मोदी र प्रधानमन्त्री देउवाबीच सोही दिन दुई पक्षीय औपचारिक वार्ता पनि हुनेछ। वार्ताका क्रममा केही सम्झौता हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।