बैशाख २८, २०७९ बुधबार

काठमाडौँ — रिभर फल्स पावर कम्पनीको प्राथमिक सेयर आईपीओमा बुधबारदेखि आवेदन खुलेको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

जेठ ४ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । आफ्नो बैंक खाता रहेको जुनसुकै शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ? कम्पनीलाई केयर रेटिङ नेपालले एनपी बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी आफ्नो दायित्व बहन गर्न औसत सक्षममा रहेको जनाउँछ । यसको रजिष्टर्ड कार्यालय कमलादीमा छ । कम्पनीले संखुवासभा जिल्लामा निर्माण गरिरहेको पिलुवाखोला जलविद्युत् आयोजना १०.३० मेगावाट क्षमताको हो । आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८६ करोड रुपैयाँ बराबर छ । आयोजनाको प्रतिमेगावाट लागत ब्याजसहित १८ करोड ६ लाख १५ हजार रहने अनुमान छ । तर निर्माण सम्पन्न हुने अवधि लम्बिएमा बढ्न जानेछ । आयोजनाको व्यापारिक उत्पादन सुरु हुने वर्षलाई आधार मान्दा लगानी फिर्ता हुने अवधि ६.३२ वर्ष छ । २०७८ पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ८६ रुपैयाँ ६१ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाा ३६ पैसा ऋणात्मक छ । २०८०/८१ मा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा रहने अनुमान छ ।