बैशाख २९, २०७९ बिहिबार

सरकारले शुक्रबार निर्वाचनका लागि सार्वजनिक बिदा दिएको छ। भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार परेको छ भने जेठ १ गते आइतबार पनि सार्वजनिक बिदा घोषणा गरिएको छ। 

जेठ २ गते सोमबार बुद्ध जयन्तीका अवसरमा पनि सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यसर्थ, आज (बिहीबार) पछि नेप्से एकैचोटी आउँदो साताको मंगलबार अर्थात् जेठ ३ गते मात्रै खुल्नेछ। 

हाल बजारमा उतारचढाव देखिए पनि धेरैको अपेक्षा चुनावपछि बजार बढ्न सक्छ भन्ने छ। यसबारे नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली भन्छन्, 'बजारले कुन गति लिन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न तर अहिले चुनावका कारण गाउँ-गाउँमा भइरहेको खर्च चुनावपछि बैंकिङ प्रणालीमा आउने र आर्थिक वर्ष सकिन लागेकाले सरकारी खर्च पनि बढ्ने भएकाले यसको बजारमा सकारात्मक प्रभाव पर्छ कि भन्ने हो।'

मैनालीको जस्तै तर्क गर्छिन्, नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी। 'अहिले हामी लगानीकर्ताहरू आशावादी छौँ,' उनले भनिन्, 'बजार तल्लो तहमा आएकाले अहिले लगानी गर्ने बेला समेत भएको छ। यही कारण बजार केही समय बढ्न सक्छ।'