उडानकै क्रममा चालक बेहोस भएपछि एक जना यात्रुले विमानको सुरक्षित अवतरण गराएका अमेरिकाको फ्लोरिडाका सञ्चारमाध्यमले जनाएका छन् ।
सार्वजनिक भएका उडान रेकर्डिङहरूमा विमानस्थल टावरसँग आफूलाई "विमान कसरी रोक्नेबारे केही थाहा नभएको" भन्ने एक अपरिचित व्यक्तिको आवाज सुनिन्छ।
नयाँ पाइलटलाई तालिम दिने एअर ट्राफिक कन्ट्रोलरले पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गराउने तरिकाबारे मङ्गलवार मध्यान्ह ती यात्रुलाई सिकाउँछन्।
विमान सकुशल अवतरण भएपछि ती एअर ट्राफिक कन्ट्रोलर र यात्रुले धावनमार्गको छेउमा अँगालो मार्छन्। तर एक अर्काको नाम सोध्दैनन्।
"यहाँ जटिल अवस्था आयो। मेरो पाइलटले होस गुमाए," करिब ९,००० फिटको उचाइमा आकाशबाट ती मानिसले बोलिरहेको सुनिन्छ।
"उनी होसमा छैनन्।"
"मैले मेरो नेभिगेसन स्क्रिन पनि खोल्न सकिरहेको छैन। त्यसमा सबै जानकारी हुन्थ्यो। तिमीहरूलाई त्यसबारे केही जानकारी छ," उनले एउटा विन्दुमा भनेका छन्।
"मलाई कसरी विमान रोक्ने भन्ने पनि थाहा छैन। मलाई केही गर्न आउँदैन," विमान चलाइरहेका ती यात्रुले भनेको सुनिन्छ।
पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलका एअर ट्राफिक नियन्त्रक रोबर्ट मोर्गन कामबाट आराम लिइरहेका बेला उनका सहकर्मीले उक्त अवस्थाबारे उनलाई जानकारी गराएका थिए।
लामो समय उडान प्रशिक्षक र दुई दशकभन्दा लामो एअर ट्राफिक नियन्त्रकको अनुभव भएका मोर्गनलाई पनि त्यही मोडलको विमान उडाएको कुनै अनुभव थिएन।
उनले ककपिटको नक्सा हेरेर सेस्ना २०८ मोडेलको उक्त विमान अवतरण गराउन ती व्यक्तिलाई सिकाए।
रेकर्डिङमा मोर्गनले ती मानिसलाई विमान नियन्त्रण गर्न र निकै सुस्त दरमा विमानको उचाइ कम गर्न सिकाउँदै गरेको सुनिन्छ।
"मैले थाहा पाउनुअघि नै उनले 'म जमिनमा आइसकेँ, अब कसरी यसलाई बन्द गर्ने' भनेर सोधे," मोर्गनले भने।
दुवैजनाबीच धावनमार्गमा भेट भयो र उनीहरूले सेल्फी तस्बिर समेत लिए। तर त्यो खुसीमा मोर्गनले ती व्यक्तिको नाम सुनेनन्। वीवीसीले लेखेको छ ।