जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकभर पानी पर्नसक्ने सम्भावना रहेकाे हुँदा ओत लाग्ने वस्तु बोकेर मतदान गर्न जानुपर्नेछ ।
महाशाखाका अनुसार शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।
कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकीका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । मतदानको भोलिपल्ट शनिबार प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भेकमा वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।
गत आइतबार चुनावी मौसमको प्रक्षेपण गरेपछि निर्वाचन आयोगले मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार मतदानस्थल र केन्द्रमा पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गरिएको छ ।
स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण छिनमै पानी पर्ने र छिनमै घाम लाग्न सक्ने भएकाले मतदानका लागि जाँदा ओत बोक्न मौसमविद्ले सुझाएका छन्।