बैशाख ३०, २०७९ शुक्रबार

काठमाडौँ । आज देशभर रहेका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन सुरु भएको छ ।

निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको मतदाता नामावलीअनुसार देशभर कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् । १८३ अन्य मतदाता छन् ।

आयोगको तथ्यांकअनुसार गएको स्थानीय तह निर्वाचन भन्दा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् । यी मतदाताले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसपटक निर्वाचन आयोगले हिजो अर्थात् वैशाख २९ गते १८ वर्ष पुगेर मतादाता नामावलीमा नाम भएकाहरूलाई मतदान प्रक्रियामा समावेश गरेको हो ।

आयोगको तथ्याङ्कअनुसार २०७४ सालमा भएको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता रहेका थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २२३ जना मतदाता छन् । सबैभन्दा कम मनाङमा ६,४९६ मतदाता छन् ।

एक मतदातालाई भोट हाल्न कति समय लाग्छ ?

यस निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म सात जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

कम्तिमा एक मिनेटभित्र एक जना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा एक मिनेटभित्र मतदान गरिसक्ने आकलन गरिएकाे छ ।