अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्।
उनले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनु पर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईंका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताए।
उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्नेछ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ। अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन। त्यो अहिले उपयुक्त पनि हुँदैन।’
अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताए।
कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताए।
उनले भने, ‘हामी बजेटको तयारीमा जुटेका छौँ। सिद्धान्त र प्राथमिकताको तयारी करिब अन्तिम चरणमा आइपुगेको छ। सँगसँगै हामी बजेटको तयारीमा पनि जुटि नै रहेका छौँ। समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौँला। मुख्य गरिकन हामी कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना जस्ता विषयहरुमा बढ्ता केन्द्रीत हुन्छौँ। नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशिल बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौँ।’
राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।
उनले भने, ‘अहिले हामी दुईवटा कुरामा केन्द्रीत हुन चाहिरहेका छौँ। बजेटले राष्ट्रिय प्राथमिकतालाई ठीक ढङ्गले चिनेर आउँछ। राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरु ठिक ढंगले निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईवटा कुरामा हामी बढी ध्यान दिन्छौँ। आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढी होसियार हुन्छौँ। बजेट सार्वजनिक गरेर मात्रै हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो। त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ। यी दुईवटा चिजमा हामी केन्द्रीत हुन्छौँ।’
कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।