बैशाख ३०, २०७९ शुक्रबार

काठमाडौं । नेप्से यो साता दुई हजार तीन सय ५० दशमलव ४२ अंकमा कायम भएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५३ दशमलव ९६ अंकमा कायम भएको छ । नियमित कारोबारको लागि नेप्से यो साता पाँच कार्य दिन नै खुला रहेको थियो ।

जसमध्ये चार कार्यदिन नेप्से लगातार बढेको थियो भने पाँचौं कार्य दिन नेप्से घटेको थियो । सोही आधारमा यो साता नेप्से सूचक एवं कारोबार रकम दुवै नै गत साताको तुलनामा बढेको हो । यो साता दुई सय ३३ वटा कम्पनीहरुको एक लाख ६० हजार तीन सय ३२ पटक सेयर कारोबार भएको छ ।

जसबाट दुई करोड पाँच लाख ५६ हजार छ सय ५४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम आठ अर्ब ५६ करोड ६१ लाख ४१ हजार आठ सय ५९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैंयाँले बढी हो । गत साता दुुई सय ३३ वटा कम्पनीहरुको ९३ हजार दुई सय २६ पटक सेयर कारोबार भएको थियो ।

जसबाट एक करोड २२ लाख ५५ हजार आठ सय ६७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ३४ करोड ७२ लाख ७९ हजार एक सय ८६ रुपैयाँ पुगेको थियो । नियमित कारोबारको लागि नेप्से यो साता पाँच कार्य दिन नै खुला रहेकोमा पहिलो दिन १७ दशमलव ९५ अंकले बढेर दुई हजार दुई सय ५६ दशमलव ५७ अंकमा पुगेको नेप्से अन्तिम कारोबार दिन १८ दशमलव ६४ अंकले घटेर दुई हजार तीन सय ५० दशमलव ४२ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी पहिलो दिन तीन दशमलव आठ अंंकले बढेर चार सय ३६ दशमलव ३५ अंकमा चढ्न सफल भएको सेन्सिटिभ इन्डेक्स पनि अन्तिम कारोबार दिन दुई दशमलव सात अंंकले घटेर चार सय ५३ दशमलव ९६ अंंकमा सीमित हुन पुगेको थियो । यी बाहेकका दिनहरुमा भने नेप्से सूचक तथा सेन्सिटिभ इन्डेक्स दुवै नै लगातार बढेको थियो ।

नेशनल हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम सहितका कम्पनीहरुको यो साता बढी रकम कारोबार भएको छ भने नेपाल टेलिकम, नेशनल हाइड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएको छ । बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।