जेठ २, २०७९ सोमबार

काठमाडौं स् युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटमा नेपाल पराजित भएको छ। युगाण्डाले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएपछि युगाण्डाले १२ रनको जित हात पारेको हो।

नेपाली महिला टोलीले अन्तरराष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेको डेढ दशकपछि पहिलो पटक त्रिविको घरेलु मैदानमा खेलको हो। नेपालले सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिप खेल्दै अन्तरराष्ट्रिय क्रिकेट प्रतिस्पर्धमा भाग लिन थालेको थियो।  

घरेलु भूमिमा नेपाली महिला टोलीले खेलेको यो दोस्रो अन्तरराष्ट्रिय प्रतियोगिता हो।

नेपालकी इन्दु बर्माले सर्वाधिक १६ रन बनाए। डोली भट्टले १३ रन बनाउँदा बिन्दु रावलले १२ रन जोडिन्। नेपालका ३ खेलाडी बिन्दु रावल, इन्दु बर्मा र ज्योती पाण्डे रन आउट हुँदा पराजय बेहोर्नु पर्‍यो।

​कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६ रन मात्र बनाइन्। रोमा थापाले ५, कविता जोशीले ४ र अप्सरी बेगमले १ रन मात्र बनाएर आउट भए। कविता कुँवर ११ रनमा अविजित रहिन् भने अश्मिना कर्माचार्यले खाता नै खोल्न सकिनन्।

युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले २-२ विकेट लिए। रिता मुसामाली र जेनेट माम्बाजीले १र१ विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युगाण्डाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय २ रन बनायो। युगाण्डाका जेनेट माम्बाजीले सर्वाधिक ३० रनको योगदान गरिन्। रीता न्यांगेन्डोले १८ रन जोड्दा केभिन अविईनोले १५ तथा फ्रैंकलिन नज्जुम्बाले १२ रनको योगदान गरिन्।

बलिङतर्फ नेपालकी कविता कुँवरले सर्वाधिक २  विकेट लिइन्। रुबिना क्षेत्री,कविता जोशी र इन्दु बर्माले १र१ विकेट हात पारे। यो जितसँगै युगान्डाले ५ खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

युगान्डासँग नेपाली महिला टोलीले भोलि मंगलबार दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ। नेपालले चौथो टी-२० जेठ ६ गते र अन्तिम टी-२० जेठ ७ गते खेल्नेछ।