जेठ ३, २०७९ मंगलबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किंग्सलाई १७ रनले पराजित गर्दै नयाँ दिल्ली अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ।

साथै प्ले अफ सम्भावना पनि बलियो बनाएको छ। १३ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष चारमा उक्लिँदा पराजित पन्जाबको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ।

सोमबार राति डीवाई पाटिल स्पोर्टस एकेडेमीमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनायो। १६० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाब ९ विकेटको क्षतिमा १४२ रनमा समेटियो।

पन्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए। जोनी बारिस्टोले २८ र राहुल चाहरले २५ रन जोडे।

दिल्लीका शार्दुल ठाकुरले चार विकेट लिए। अक्षर पटेल र कुलदीप यादवले २/२ विकेटले लिए।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि १५९ रनको योगफल तयार पार्ने क्रममा मिचेल मार्शले सर्वाधिक ६३ रन बनाए। शर्फराज खानले ३२ र ललित यादवले २४ रन जोडे।

पन्जाबका लियाम लिविंगस्टोन र अर्शदीप सिंहले समान ३/३ विकेट लिए। कसिगो राबडाले १ विकेट लिए।

हारसँगै १३ खेलमा १२ अंक जोडेको पन्जाबको प्लेअफ सम्भावना लगभग सकिएको छ।

आईपीएलमा गुजरात प्लेअफमा प्रवेश गरिसकेको छ। राजस्थान र लखनऊको सम्भावना बलियो छ। चौथो टिमका लागि दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा छ। अन्य टिमको नेट रनरेटबाहेक सम्भावना न्यून छ।

आईपीएलमा मंगलबार मुम्बई र हैदरावाद भिड्दैछन्। वानखेडे स्टेडियममा साँझ ७:४५ मा खेल हुनेछ।