वैशाख ३० गते निर्वाचन सम्पन्न भएलगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, तनाव आदिका कारण बिरामी पर्न थालेका छन् ।
एक स्थानीय तहमा एक जनामात्रै मतदान अधिकृत वा मुख्य निर्वाचन अधिकृत रहन्छन् । लामो समयसम्म मतगणना गर्नुपर्ने हुँदा निर्वाचन अधिकृतहरू धमाधम बिरामी पर्न थालेका हुन् ।
थकान, तनाव र दबाबका कारण उदयपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश दीपक खनाल मतगणनास्थलमै बेहोस भएका थिए । बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो । अहिले उनले स्वास्थ्य लाभ गरिरहेका छन् ।
अत्यधिक थकान, तनाव र दबाबकै कारण सिरहाको लहान नगरपालिकाका निर्वाचन अधिकृत पनि बेहोस भए ।
बाजुराका निर्वाचन अधिकृतले समेत थकान, तनाव र दबाबकै कारण राजीनामा गरेका थिए । बाजुराका बुढीगंगा गाउँपालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले आफू असुरक्षित बनेको भन्दै निर्वाचन अधिकृतबाट राजीनामा दिएका थिए । राजनीतिक दलहरूले दबाब र धम्की दिएको भन्दै उनले मुख्य निर्वाचन अधिकृतसमक्ष राजीनामा बुझाएका थिए ।
यी तीन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत त उदाहरणमात्रै हुन् । धेरै उम्मेदवार र मतदाता रहेको सहरी क्षेत्रमा मतगणना गर्न लामो समय लाग्ने भएपछि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतहरू बिरामी पर्न थालेका छन् ।