फिनल्यान्ड र स्विडनलाई नेटोमा जोडिन नदिने टर्कीको अडान
फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि सहमति नदिने टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले सोमवार घोषणा गरेका छन् ।
टर्कीलाई यस विषयमा पुनर्विचार गर्न लगाउने सबै प्रयास व्यर्थ भएको उनको भनाइ छ ।
फिनल्यान्ड र स्विडन दुवैले अमेरिकी नेतृत्वको नेटोमा जोडिने उद्देश्यको घोषणा गरिसकेका छन् । टर्कीले पहिलेदेखि नै यसको विरोध गर्ने बताउँदै आएको थियो । एर्दोआनले ती दुई मुलुक आतंकवादी संगठनहरूको अतिथिगृह भएको बताएका थिए ।
ती देशमा कुर्दिस्तान वर्कर्स पार्टी र रिभोल्युसनरी पिपुल्स लिबरेसन फ्रन्टले अड्डा जमाएको भन्दै टर्की रिसाएको छ । ती दुई दललाई टर्कीले प्रतिबन्ध लगाएको छ ।
‘यी देशहरूले आतंकवादी संगठनका विरुद्ध स्पष्ट अडान लिएका छैनन् । स्विडन आतंकवादी संगठनहरू हुर्किने थलो हो । उनीहरूको संसदमा गएर आतंकवादीहरू आफ्नो कुरा राख्छन् । उनीहरू सुरषा संगठन नेटोमा जोडिने कुरालाई हामी विरोध गर्छौं । हामीलाई फकाउन उनीहरू सोमवार यहाँ आउने कुरा थियो । तिनीहरूले दुःख गरिरहनुपर्दैन ।’
स्विडनको परराष्ट्र मन्त्रालयले हेल्सिन्की र स्कटहोमका वरिष्ठ अधिकारीहरू टर्की गएर यस विषयमा छलफल गर्ने बताएका थिए । तर यस्तो वार्ता बेकार भएको संकेत एर्दोआनले गरेका छन् ।
नेटोमा जोडिनका लागि कुनै पनि देशको निवेदनलाई सबै ३० सदस्यले सर्वसम्मतिका साथ स्वीकार गर्नुपर्छ । टर्कीलाई आफ्नो अडान बदल्नका लागि अमेरिकाले दबाब दिने सम्भावना छ ।