जेठ ६, २०७९ शुक्रबार

कहिले एक गायिकालाई सम्झेर निन्द्रा लाग्दैन त कहिले ग्लामर क्षेत्रमा भविष्य खोजिरहेकी ती युवाती सम्झेर । ३/४ वर्षअघि १६ वर्षकी एउटी गायिकाको जीवनमा पनि यस्तै घटना घटेको थियो । जसको घटना यस प्रकार छ - उनी गीत गाउने कलाकारलाई अमेरिकाको क्यालिफोर्निया राज्यबाट बाल्टिमोर राज्यमा बोलाउँछन् कार्यक्रम सञ्चालकले । कार्यक्रम दिउँसो मात्र हुने हुन्छ । ती नानी बिहानको ४ बजे आइपुगेकाले होटेलमा आराम गर्ने भन्ने सल्लाहअनुरूप सञ्चालक र गायिका दुबै होटेलमा जान्छन् । होटेलमा एउटा मात्र कोठा भेटिन्छ, ठिकै छ बिहान ५ जति बजिसकेको छ, एकैछिनको कुरा हो भनेर त्यही एउटा कोठामा आराम गर्ने निधो गर्छन् दुबैले । दिउँसो कार्यक्रम गर्दा उनीहरू सँगै हुन्छन् । बेलुका कार्यक्रम सकिएपछि सञ्चालकले अल्कोहल केही खाने भनेर सोध्छन्, गायिकाले अस्वीकार गर्छिन् । भोलिपल्ट ती गयिकालाई लाग्छ कि त्यो सञ्चालकले शारीरिक/मानसिक यातना दिएको जस्तो लाग्छ र पुलिसलाई उजुरी गर्छिन् । पुलिसले सोधपुछ गर्छ । शरीर कतै नछोएको र उत्तेजनात्मक कुनै कुरा नगरेको भनेपछि पुलिस त्यसै फर्किन्छ ।


ती नानीलाई लागिरहन्छ कि त्यो व्यक्ति दोषी छ भनेर । १/२ दिनमा फेसबुकबाट लाइभ आउँछिन् । गायिकाको पक्ष लिएर नेपालका एक टेलिभिजनकर्मीले पनि कार्यक्रम चलाउँछन् । त्यसपछि सारा नेपालीको गालीको वर्षा सुरू हुन्छ अमेरिकामा कार्यक्रम गर्ने सञ्चालकप्रति । म सञ्चालकको पक्षमा थिएँ, उनको फेसबुक हेर्दा लक गरेको रहेछ । गर्भवती पत्नीसँग सानो बच्चाको जुत्ता देखायको फोटो मात्र देखियो । गर्भवतीलाई परिवारमा त्यो समय त्यस्तो परिस्थिति आउँदा कस्तो भयो होला, मैले कल्पना गर्न पनि सकिनँ । केही समयअघि अभिनेता पल शाह र एउटी युवतीको पनि घट्ना बाहिरियो । यस घट्नामा साधारण जनता दुईतर्फ देखिए । एकथरिले पुरै गायिकालाई पैसा खाने उद्देश्यले पललाई फसाउन लागेको भन्ने आरोप लगाए भने अर्काथरि ३०/३२ वर्षको केटाले १६/१७ वर्षकी केटीलाई दुर्व्यवहार गरेकाले सजाय पाउनैपर्छ भन्नेतरेफ लागे । यो घटना कहिले हो जस्तो गर्ने र कहिले होइन जस्तो गर्ने गरेको देख्दा सुन्नेलाई झ्याउ लागिसकेको थियो । 


त्यस्तैमा एउटा अडियो क्लिप सार्वजनिक भयो । अडियोमा महिला अधिकारकर्मीसँग युवतीको कुराकानी भएको जस्तो सुनिन्छ । कुराकानी सुरू हुनुभन्दा पहिले पीडित र अधिकारकर्मी भन्नेसँग हस्ताक्षर भएको हुन्छ कि “पिडितका सबै सूचना गोप्य राखिनेछ भनेर । 

कस्लाई भन्ने, के गर्ने, के ठीक के बेठीक भन्ने त्यति राम्रोसँग नबुझेकी युवती अधिकारकर्मी समक्ष पुग्छिन् र आफ़्ना कुरा सुनाउँछिन् । तर त्यो क्लिप सार्वजनिक हुन्छ। अर्काको गोप्य कुरा त्यसरी सामाजिक सञ्जालमा राखिदिने ती अधिकारकर्मीलाई कारबाही हुनुपर्छ कि पर्दैन ? हुनैपर्छ । …  


त्यसपछि पलले पनि अर्को अडियो सार्वजनिक गर्छन् । त्यसपछि केस अन्तै मोडिएको छ । 

अहिले फेरी अर्को घटना बाहिर आएको छ । १६ वर्षकी हुँदा आफूमाथि यौन हिंसा भएको भनेर उनले सामाजिक सञ्जालमा भनेकी छिन् । धनी र शिक्षित परिवारको जस्तो देखिने ती नानीको कुरा सुनेपछि अर्को तर्फको कुरा सुन्नुपर्छ जस्तो लागेन । हुन त सबै घटनाको दुई पाटो हुन्छ तर यो घटनामा पहिलो पल्ट भएको बलत्कारको अर्को पाटो सुन्नुपर्छ जस्तो लागेन । यति धेरै घटना हुँदा पनि आफ़्ना आमा बाबुलाई भन्न नसक्नु तर अधिकारकर्मीलाई हारगुहार गर्न सक्नुमा कतै हाम्रो शिक्षा पद्धतिको कमजोरी त होइन ?

आजकल सामाजिक सञ्जालतिर देखिन्छ - केही भयो भने अधिकारकर्मीसँग, मनोविद्सँग परामर्श लिइन्छ । सित्तैमा कसैले काम गर्दैन । शुल्क कति लाग्छ भन्ने कुरा तिर्नेलाई मात्र थाह हुन्छ । त्यसको सट्टा आफ़्ना बुवाआमालाई भनेको भए… सिकाउनेले पनि बुवाआमालाई भन भनेर सिकाइदिएको भए.. भगवान्‌मा भरोसा गरेर प्रार्थना गर्न सिकाइदिएको भए… धार्मिक पुस्तक (गीता) पढ्न सिकाइदिएको भए… कति छिटो समस्याको समाधान हुन्थ्यो होला ! यस्ता कुरा न त हाम्रा पाठ्यपुस्तकमा छन् न त कसैले सिकाउँछन् । सबैलाई आधुनिक बन्नुपरेको छ ।  साहित्य पढ्न सिकाउँछन् - मीसेल ओबामा, हिलारिका चीनीलेपन गरिएका किताब पढ्न सुझाउँछन् । जसको जीवनपद्धति, हुर्कने पद्धति हामीसँग कत्ति पनि मिल्दैन । त्यस्ताको जीवन कहानी पढ़ेर हाम्रो समस्या कसरी समाधान होला ? … पीडितले आवाजबिहीनको आवाज उर्फ माल्विका सुब्बासँग आवाज उठाउनका लागि अनुरोध गरेकी रहिछिन् । उनले बलात्कार उनको समस्या नभएको बताएर फ़ोन राखिछन् । सबै घटनामा उनी बोल्न सक्छिन् भन्ने पनि छैन तर उनी सित्तैमा काम गर्दिनन् । उनी रिलमा अधिकारकर्मी हुन् तर रियल जिवनमा होइनन् । ✍️ शशि खनाल, अमेरिका