जेठ ९, २०७९ सोमबार

विश्वभर खाद्यान्न संकटको चर्चा मात्रै सुरू भएको छैन, नेपालमा पनि खाद्यान्न संकट आउन सक्ने भन्दै उद्योग वाणिज्य तथा महासंघले पूर्व तयारीमा लाग्न छलफल नै चलाएको छ। 

हाल विश्वका २० राष्ट्रले विभिन्न किसिमका खाद्यान्नको निर्यातमा रोक लगाएका छन्। बाँकी केहीले करहरूको माध्यमबाट निर्यातमा कडाइ गरिरहेका छन्। 

नेपालमा यसको कस्तो प्रभाव पर्छ भन्ने खासै अध्ययन गरिएको छैन। साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभाइरनमेन्ट (स्वाति)का अनुसन्धान प्रमुख पारस खरेल भन्छन्, ‘हाम्रो मुलुकमा हाल मुख्य खाद्यान्नको स्रोतका रूपमा धान रहेकोले ठूलो प्रभाव त रहँदैन। तर, मकैलगायतका वस्तुको समेत मूल्य बढिरहेकाले कुखुरा उद्योगमा प्रभाव पर्ने र मासुमा मूल्य वृद्धि हुने सम्भावना रहन्छ।’

हाल मुलुकमा आफ्नै उत्पादनले नपुगेर वार्षिक ६ लाख मेट्रिक टन धान आयात हुने गरेको छ। गहुँ र मकैलाई मुख्य खाद्यान्न बनाउने मुलुकहरूमा भने अहिले विभिन्न मुलुकले लगाएको रोकले खाद्यान्न संकट आउन सक्ने विश्लेषण भइरहेको छ।

विश्व खाद्य कार्यक्रमले विश्वका ४ करोड ९० लाख मानिसहरूले भोकमरीको सामना गर्नुपर्ने अवस्था रहेको प्रक्षेपण गरेको छ। अफ्रिकाको साहेल क्षेत्रमा मात्रै कोभिडका कारण सिर्जना भएको भोकमरीको तुलनामा १० गुणा बढी मानिसहररू भोकमरीको शिकार हुने अनुमान गरिएको छ।

युक्रेन र रसियाको युद्धका कारण अहिले विश्वभर गहुँ, मकै, जौ र सूर्यमुखीको तेललगायत खाद्यान्नको आपूर्ति शृखंलामा प्रभाव परेको हो। यी दुई मुलुकले मात्रै विश्वभर हुने गहुँको निर्यातको ३० प्रतिशत हिस्सा ओगट्छ।

भारतले आफ्ना १ अर्ब ४० करोड जनसंख्याको खाद्य सुरक्षाका लागि भन्दै निर्यातमा १३ मेमा गहुँको निर्यातमा रोक लगाएको छ। भारतमै पनि कतिपय स्थानमा गहुँको पिठोको मूल्य २० देखि ४० प्रतिशतसम्म बढेको खबर आएको छ।

भारतको यो निर्णयले नेपालमै पनि करिब ४३ वटा मिल बन्द हुने अवस्था आउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए।

यी विभिन्न २० मुलुकले लगाएको रोकको कारण विश्वको खाद्यान्न व्यापारको १० प्रतिशत प्रभावित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वभर खाद्यान्नको व्यापारमा भइरहेको संकटले खाद्य प्रवृत्तिमा परिवर्तन आएमा रोक नलगाएका खाद्यान्नहरूको मूल्यमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ। हाल नेपालमा गहुँको मूख्य आयात भारतबाट र मकैको भारत तथा बंगलादेशबाट हुने गरेको छ।  

(विभिन्न एजेन्सीको सहयोगमा )