जेठ ९, २०७९ सोमबार

काठमाडौं: नेपाल टी-२० बाहेक अन्य फ्रेन्चाइजलाई मान्यता नदिने क्यानको निर्णयप्रति एभरेष्ट प्रिमियर लिग (इपिएल) का प्रमुख आमिर अख्तरले गम्भिर असहमति जनाएका छन्। उनले क्यानलाई यो निर्णय लागू नगर्न चेतावनी दिंदै क्रिकेटमा भित्रिंदै गरेको लगानी अवरुद्व हुने र सबै प्रतियोगिता बहिष्कार गर्नुपर्ने अवस्था आउने बताए।

केही समयअघि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको आफैँ फ्रेन्चाइज टी-२० क्रिकेट आयोजना गर्ने र स्वाभाविक रुपमा एक देशमा एक फ्रेन्चाइज हुने र अन्य प्रतियोगिताले मान्यता नपाउने अध्यक्ष चतुरबहादुर चन्दले अभिव्यक्ति दिएसँगै टी-२० फ्रेन्चाइज आयोजना गर्दै आएका टिमहरु आक्रोशित भएका थिए।

क्यानका अध्यक्षको भनाइसँगै पाँचौँ संस्करणका लागि मिति पर्खिरहेको इपिएलसँगै अन्य फ्रेन्चाइजहरू अन्योलमा परेका थिए। यसै सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमार्फत नेपाल टी-२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनी अख्तरले दिएका थिए।

‘क्यानले गरेको घोषणाले इपिएल र यसँग सम्बन्धित सबै सरोकारवालाहरु पूर्ण निराश र स्तब्ध भएका छौं। इपिएलले क्यान निलम्बित हुँदा वा कोभिड-१९ का कारण सम्पूर्ण काम ठप्प हुँदासमेत नेपाली क्रिकेटलाई सहयोग गरेका थियौं‚’ अख्तरले भने‚ ‘तर घरेलु लगानीमा सञ्चालित इपिएललाई क्यानले मान्यता नदिने निर्णयले नेपाली कर्पोरेट क्षेत्रलाई अन्योलमा पारेको छ साथै गलत र गम्भीर सन्देश दिएको छ।’

उनले यदि क्यानले हालै जारी गरेको निर्णय कार्यान्वयन गर्ने हो भने इपिएल र यसका ६ टिमले आगामी दिनमा क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिए।