म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनर्स्थापित गर्ने वाचा गरेका छन्।
म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएको थियो। त्यसयता म्यानमारमा सैनिक कू को विरोधमा प्रदर्शन हुँदै आएको छ।
सैनिक दिवसको अवसर पारेर शनिबार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गरि सैनिक जनरल मिनले चुनाव गर्ने बताए। तर उनले चुनावको मिति भने बताएनन्।
प्रदर्शनको दबाबमा आएको सेनाले प्रजातन्त्र पुनस्थापित गर्ने वाचा गरे पनि दमन भने जारी राखेको छ। राष्ट्रिय टेलिभिजनमा प्रशारित सामग्रीमा शुक्रबार प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने भनिएको थियो।
सैनिक कू को विरोधमा हुँदै आएको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा ३२० जनाको ज्यान गएको छ। टेलिभिजन सम्बोधनमा सेना प्रमुख मिनले प्रजातन्त्र पुनर्स्थापनाका लागि सम्पूर्ण देशबासीसँग हात मिलाउन चाहेको बताए।
माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको भन्दै उनले चेतावनी दिएका हुन्।