जेठ १०, २०७९ मंगलबार

टर्कीले उत्तरी सिरियामा नयाँ सैन्य कारवाही चलाउने राष्ट्रपति रेचेप तैयिप एर्दोआनले सोमवार बताएका छन् । 

उनले यसको विवरण नखुलाएको भए पनि अमेरिकाले समर्थन गरेका कुर्द लडाकूहरूको कब्जामा रहेका क्षेत्रमा टर्कीले आक्रमण गर्ने सम्भावना छ । सन् २०१६ पछि तीनपटक टर्कीले त्यस ठाउँमा आक्रमण गरिसकेको छ ।

‘हाम्रो दक्षिणी सीमामा स्थापित ३० किलोमिटर लामो सुरक्षाक्षेत्रमा बाँकी रहेका योजना पूरा गर्न हामीले छिट्टै नयाँ कदम चाल्न लागिरहेका छौं,’ एर्दोआनले मन्त्रिपरिषद् बैठकपछि बताए । 

‘हाम्रो देशमा गरिने आक्रमणका केन्द्रलाई तारो बनाउनु यी कारवाहीहरूको मुख्य उद्देश्य हो,’ एर्दोआनले बताए । टर्कीको सेना, गुप्तचर तथा सुरक्षाबलहरूले आफ्नो तयारी पूरा गरेपछि कारवाही शुरू गरिने उनले बताए । 

टर्कीले सिरियामा तीनपटक सेना पठाइसकेको छ । सन् २०१६ मा उसले अपरेसन युफ्रेटिस शील्डअन्तर्गत कारवाही चलाएको हो । पछिल्लोपटक उसले सन् २०१९ मा अपरेसन पीस स्प्रिङ चलाउँदा अमेरिकाले उसमाथि प्रतिबन्ध लगाएको थियो र एर्दोआन तथा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीच वाग्युद्ध चलेको थियो । टर्कीले सिरियाको अलेप्पो, रक्का र हसाकाह क्षेत्रका केही भाग नियन्त्रणमा लिउको छ भने इदलिबमा लडाकूहरूलाई सहयोग गरिरहेको छ । 

अप्रिल महिनामा टर्कीले इराकमा पनि सैनिक पठाएर मेटिना, जाप र आभासिन–बास्यान लगायतका क्षेत्रमा कुर्द लडाकूहरूलाई तारो बनाएको थियो । इराकको सार्वभौमसत्तामाथि आक्रमण भनी बग्दादले आपत्ति जनाएको भए पनि उसले केही गर्न सकेको थिएन ।