जेठ १०, २०७९ मंगलबार

कञ्चनपुर । चौधरी भाषाको कार्यक्रम "अपन बोली, अपन सन्देश' भन्ने फोनिङ कार्यक्रममा करीब ८ वर्षअघि गुञ्जिने आवाज अब जनजनको हितका लागि गुञ्जिँदै छ ।

रेडियोमा बोल्ने सपमा बोकेर श्रोतासँग नजिक भएकी सपना अब जनजनसँग पनि नजिक भएकी छिन् । उनी अहिले नेकपा एमालेबाट लालझाडी गाउँपालिकाको उपाध्यक्ष बनेकी छिन् । भर्खरै सम्पन्न स्थानीय तह सदस्यको निर्वाचन २०७९ मा ३ हजार ५ सय ६१ मत ल्याएर २७ वर्षीया चौधरी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

सपनालाई साँच्चिकै सपना जस्तै लागेको थियो, गाउँपालिकाको उपाध्यक्ष बन्नु । तर रेडियोमा बोल्न सिकेर आफूलाई धेरै फाइदा पुगेको उनी बताउँछिन् । लालझाडी गाउँपालिकामा ६ वडा रहेका छन् । उनले अब कुनै पनि पार्टी नहेरीकन सबै मिलेर विकास, सुशासान र समृद्धिका सवालमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।

चौधरीले चुनावी दौरानमा जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न कटिवद्ध भएर लाग्ने बताइन् । जनताको भावनाअनुरूप आफूले काम गर्ने उनी भन्छिन् । "चुनाव हुनुभन्दा अघि मात्रै पार्टीगत हिसावले हामीहरू चुनाव लड्यौँ, अब हामी पार्टीगत हुनुहुँदैन" उनले भनिन् ।


२०७१ सालमा रेडियो प्रभु एफ.एम. १०२.६ मेगाहर्जमा एउटा कार्यक्रम चलाउँथिन् उनी । कक्षा १० मा अध्ययन गर्दा रेडियोमा चौधरी भाषाको 'अपन बोली, अपन सन्देश' भन्ने फोनिङ कार्याक्रम चलाउँथिन् उनी । रेडियोबाट आम चौधरी समुदायको कला, संस्कृतको प्रवर्धनसँगै संरक्षणका बारेमा दिनहुँ श्रोतासँग संवाद गरिरहन्थिन् । आफ्नो चालचलन, रीतिरिवाज, वेशभूषालाई संरक्षण गर्नका निम्ति कार्यक्रममार्फत आम श्रोतामाझ सन्देश प्रवाह गर्थिन् । उनले करिब १ वर्ष रेडियोमा काम गरेकी थिइन् ।