जेठ १०, २०७९ मंगलबार

काठमाडौँ– अफ्रिकी मुलुक नाइजेरियाको सुदूर उत्तर पूर्वी बोर्नो राज्यमा हतियारधारी लडाकुले आक्रमण गर्दा ३० जना बेपत्ता भएका छन् । बोर्नो राज्यको रन शहरमा मोटरसाइकल चढेर आएका बन्दुकधारीले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

पीडितहरू दाउरा खोज्न झाडीतिर गएका बेला बन्दुकधारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । दाउरा खोज्न गएका केही मानिसहरू भने बन्दुकधारीको आक्रमणबाट बाँच्न सफल भएको बीबीसीले जनाएको छ ।

बाँच्न सफल केहीलाई गोली लागेको जनाइएको छ । घटनामा दर्जनौं मानिसहरूको अपहरण वा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट नभएपनि सो क्षेत्रमा आतंककारी संगठन बोको हराम र अन्य हिंसात्मक समूहहरू सक्रिय रहेको बीबीसीले जनाएको छ ।

घटनाबारे नाइजेरियाको सुरक्षा फौजले कुनै टिप्पणी गरिसकेको छैन ।