जेठ ११, २०७९ बुधबार

काठमाण्डौ – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो । 

क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए । 

त्यस्तै महिलातर्फ 'सी' ग्रेडमा रहेका खेलाडीको पाँच हजार, 'ए' र 'बी' ग्रेडमा रहने खेलाडीको ६ हजार रुपैयाँको दरले बढेको छ । यसअघि 'सी' ग्रेडका महिला खेलाडीले १० हजार र 'बी' ग्रेडका खेलाडीले १२ हजार रुपैयाँ तलब पाउँदै आएका थिए । 

यस्तै मैदानका सम्पूर्ण कर्मचारीको तलब तीन हजार, कार्यालय सहयोगीको पाँच हजार र पिच क्युरेटरको तलब मासिक ६ हजार रुपैयाँका दरले बढेको छ ।