जेठ १२, २०७९ बिहिबार

निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको मतदान रद्द गर्ने निर्णय गरेको छ । आयोगले  वैशाख ३० गते भएको मतदान कार्यमा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा रसशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेको ठहर गर्दै जिम्मेवारीबाट हटाउन निर्देशन समेत दिएको छ । 

आयोगको बिहीबार बसेको बैठकले उनीहरुले निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकोले निजहरुलाई तीन दिन भित्र हटाएर सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रकृया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

उनीहरूलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र  जानकारी गराउन पनि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा (१) गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।  

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने समेत निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।