जेठ १३, २०७९ शुक्रबार

इराकको संसद्ले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेपछि अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । 

‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसद्का २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । 
इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रवेशमा बन्देज छ ।

नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थानलगायत इराकमा काम गरिरहेका विदेशीहरूमाथि पनि लागू हुनेछ ।  यो विधेयक इराकका प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल–सद्रले प्रस्ताव गरेका थिए । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा इराकी संसद्मा सद्रको पार्टीले सबैभन्दा धेरै सिट जितेको छ ।

मुक्तदा अल–सद्रको पार्टीले इजरायलसँग मात्र होइन अमेरिकासँगको सम्बन्धको पनि विरोध गर्ने गर्छ । पछिल्लो समय संयुक्त अरब एमिरेट्स तथा बहराइन लगायतका खाडी मुलुकहरुले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरिरहेका छन् ।  

इरानबाट उत्पन्न साझा चुनौती सामना गर्न इजरायलसँग नजिकिनु परेको ती मुलुकले तर्क दिने गरेका छन् । इजरायल र अरबी मुलुक बीचको बढ्दो नजदिकीमा अमेरिकाले मध्यस्थता गरेको थियो ।  अमेरिकाको अर्को घनिष्ट साझेदार साउदी अरबले भने सम्बन्ध सुधारको लागि सन् १९६७ को युद्धपछि इजरायलले कब्जामा लिएको प्यालेस्टाइनी भूमि फिर्ता गर्नुपर्ने सर्त राख्दै आएको छ । 
इराकी संसदले इजरायल विरोधी कानुन पास गर्नेबाहेक हालसम्म अरू कुनै काम अघि बढाउन सकेको छैन । 

गत अक्टोबरको चुनावपछि बनेको वर्तमान संसदले न त राष्ट्रपति चुन्न सकेको छ न सरकार नै । यसले गर्दा देशको राजनीतिक गतिरोध लम्बिरहेको छ । –अलजजिराबाट