जेठ १३, २०७९ शुक्रबार

काठमाडौँ । वीरगञ्जमा शुक्रबार बजार अनुगमन गरिएको छ ।  जिल्लाको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सयुक्त रूपमा बजार अनुगमन गरेका हुन् । 

बिहीवार सपथ ग्रहण गरेसँगै एक्सनमा आएका मेयर राजेशमान र सांसद यादवले शुक्रवार बजारको सयुक्त रूपमा अनुगमन गरेका हुन् । पदभार ग्रहण गरेको पहिलो दिन वर्षौंदेखि जीर्ण रहेको घण्टाघरदेखि माइस्थान चोकसम्मको सडक निर्माणको काम सुरु गराएका सिंहले दोस्रो दिन बजार क्षेत्रको अनुगमन गरे । 

मेयर सिंहले वीरगञ्जका विभिन्न स्थानको अनुगमन गर्दै फोहर व्यवस्थापनमा कुनै किसिमको लापरवाही नगर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा बजारमा देखिएको फोहोर, नालालगायतको अवस्थामा सुधार गर्न निर्देशन दिँदै नियमित नाला सफा नहुनु, फोहोर नउठ्नुको कारण सोधेका थिए । 

फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधिलाई २४ घण्टाभित्र सबै ठाउँमा थुपारिएको फोहोर उठाउन र नालाहरू सफा गर्न निर्देशन दिएका छन् । 

त्यसैगरी बजार क्षेत्रका पसले र व्यवसायीहरूलाई उत्पादित फोहोर जथाभावी नफाल्न, आफ्नो पसल अगाडिको क्षेत्र आफैँ सफा गर्न सिंहले अनुरोध गरेका छन् । महानगरपालिकाबाट फोहर व्यवस्थापनमा कुनै पनि कमजोरी देखिए सिधै आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

सडक र नालाको अनुगमनपश्चात रजतजयन्ती चोकमा पुगेका मेयर सिंहले त्यहाँ पटके सवारी कर असुल्ने ढाट हटाउन निर्देशन दिएका छन् । पटके सवारी कर असुल्ने ढाट राखिएको अहिलेको स्थान महानगरको नभई त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टाभित्र हटाउन निर्देशन दिँदै ठेकेदारका कर्मचारीबाट रसिदको ठेली जफत पनि गरेका छन् ।

सपथ ग्रहण गरेसँगै परिवर्तनको शुरुवात गरेका मेयर सिंहसँगै सहकार्य र समन्वय गर्दै वीरगञ्जको कायापलट गर्नुपर्ने सांसद यादवको धारणा छ । वीरगञ्जबासीले बल्ल सही नेतृत्व पाएकामा खुशी व्यक्त गर्दै सांसद यादवले वीरगञ्जको विकास हुने समयको सुरुवात भएको बताएका छन् । 

अनुगमनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलगायतको सहभागिता रहेको थियो ।