कञ्चनपुर । इलाका प्रहरी कार्यालय झलारीले शनिबार बिहान ट्राफिकसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । बढ्दो सडक दुघर्टनालाई न्यूनीकरण गर्नेलगायत विषयमा आम नागरिकलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
ईलाका प्रहरी कार्यालयदेखि झलारी बजारमा "क्षमताभन्दा बढी यात्रु नचढाऔँ, सडक लेनको अनुशासन पालना गरौँ, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ" लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रहरी, पत्रकार, विभिन्न संघसंस्थाका पदाधिकारीले आम नागरिकलाई जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले पछिल्लो समयमा अत्याधिक बढ्दै गएको सडक दुघर्टनालाई कम गर्न 'आफू पनि बच्ने र अरूलाई बचाउनु पर्छ' भन्ने कुरामा मुख्य जोड दिनुपर्ने बताए । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न नसक्ने भन्दै यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको उनले बताए । त्यस्तै अधिकांश व्यक्तिहरूलाई ट्राफिक नियमको पालनाबारे थाहा भएर पनि पालना नगरिँदा जोखिम बढिरहेको उनले बताए ।