जेठ १५, २०७९ आइतबार

गणतन्त्र दिवस–२०७९ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८१८ कैदीको बाँकी कैद सजाय माफी गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतका आदेशसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताए।

मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी माफी मिनाहा गरिएको हो।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसकै अवसरमा मन्त्रिपरिषद्को जेठ १३ गतेको बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ कैदीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम कैद माफी गरेकी छन्।

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस–२०७९ का अवसरमा उनले उक्त माफी दिएकी छन्।