जेठ १६, २०७९ सोमबार

कञ्चनपुर । जताततै इमान्दारीताको खडेरी परेको समयमा सशस्त्र प्रहरीका एक कर्मचारीले आफ्नो इमान्दारीता देखाएर प्रसंशनीय कार्य गरेका छन् । अनुशासन तथा इमान्दारिता फौजको सबैभन्दा ठूलो गहना हो । फौजीहरू जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व बहन गर्दै राष्ट्र र नागरिकको सेवामा अहोरात्र खटिएका हुन्छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार हेमराज उपाध्यायले शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित सडकमा भेटिएको करिब २० हजार रुपैयाँसहितको पर्स  सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।


पूर्वपश्चिम राजमार्गअन्तर्गतको झलारीस्थित सडकमा आइतबार साँझ उपाध्यायले २० हजार रुपैयाँ नगदका साथै महत्त्वपूर्ण कागजात भेटाएका थिए । पर्समा रहेको बैंक भौचरका आधारमा वेदकोट नगरपालिका वडा नम्बर १० का परमानन्द भट्टलाई उनले उक्त रकम र कागजातहरू हस्तान्तरण गरेका हुन् । फेला परेको पर्स आइतबार साँझ नै सञ्चारकर्मीको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो । "पर्समा २० हजार रुपैयाँ थियो, अरूले भेट्टाएको भए पाइन्थ्यो कि पाइन्थेन, उहाँले फेला पारेपछि बैंक भौचरका आधारमा पहिचान गरेर  इमान्दारीपूर्वक फिर्ता दिनुभयो" भट्टले भने । भट्टले उपाध्यायलाई धन्यवाद पनि दिए । "सेवा नै धर्म हो भन्ने ठानेर आफूले सडकमा भेटाएको रकम र महत्त्वपूर्ण कागजातसहितको पर्स बैंक भौचरका आधारमा पहिचान गरेर सम्बन्धित व्यक्तिलाई बुझाइदिएँ" उपाध्यायले भने । झलारीस्थित ओम हार्डवेयरमा समान किनेर फर्किँदै गर्दा परमानन्द भट्टको पर्स हराएको थियो ।