पत्नी हत्याको मुद्दामा दोषी ठहर भएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल लगिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल पठाएको हो ।
पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुँदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । सर्वोच्चले जतिबेला यो फैसला सुनाएको थियो, त्यतिबेला उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए । फैसलामा कोइरालालाई सुनाइएको ‘सजाय बढी पर्न जाने चित्तमा लागेको हुँदा’ कम ठहर गरिएको उल्लेख थियो ।
काठमाडौँ जिल्ला अदालतले सोमबार कैदी पूर्जी जारी गर्दै २०९० साल मंसिर १३ गतेसम्म थुनामा राख्न र अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न भनेको छ । अदालतले दिएको कैदी पुर्जीमा सर्वोच्च अदालतको फैसलाको संक्षिप्त आदेशअनुसार २०९० साल मंसिर १३ गतेसम्म थुनामा रहने र फैसलाको पूर्ण पाठमा अन्य कुरा खुलेको अवस्थामा थप राख्नुपर्ने वा चाँडै छुट्न हुनसमेत सक्ने बताएको छ ।