जेठ १६, २०७९ सोमबार

इन्डियन प्रिमियर लिगको १५ औं संस्करणको फाइनल आइतबार राति गुजरात टाइटन्सले जित्यो। फाइनलमा अस्वाभाविक रुपमा न्यून स्कोर भएपछि र स्वाभाविक रुपमा विश्वास गरिएका खेलाडीले रन नबनाएपछि समर्थकले आशंका गर्छन् नै तर अहिले ‘फिक्सिङु ट्रेन्डिङ’मा नै परेपछि सबै झस्किएका छन्।

अहिले ‘ह्यासट्याग फिक्सिङ’ सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको छ। खेल सकिएसँगै फाइनलमा फिक्सिङ भएको आरोप क्रिकेट समर्थकले लगाएका छन्। जहाँ फिक्सिङ भएको भन्दै पोस्टको बाढी आएको छ। केही समर्थकले ‘फिक्सिङ’ नभएको दाबी गरेका छन्। समर्थकले कुन(कुन मोमेन्टलाई ‘फिक्सिङ’ भनेका छन्। यस्ता छन् आरोप लागेका केही विषयः

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय

राजस्थानका कप्तान सञ्जु सेमसनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए, जबकि जारी लिगमा गुजरातले पछि ब्याटिङ गर्दा अर्थात चेज गर्ने क्रममा सर्वाधिक खेल जितेको छ। उसले चेज गर्दै ९ मध्ये ८ खेलमा जित निकालेको छ र एक खेल मात्र गुमाएको छ।

यस्तोमा कप्तान सञ्जु सेमसनको यो निर्णय गलत हुन पुग्यो। राजस्थानले केवल १ सय ३० रन मात्र जोड्न सक्यो। टसको यो निर्णयलाई नै धेरैले शंकाको नजरले हेरेका छन्। र यसलाई फिक्सिङको पहिलो आधारका रुपमा लिएका छन्।

राजस्थानको टप अर्डर ब्याटिङ

टस जितेर पहिले ब्याटिङका लागि उत्रिएको राजस्थानका ओपनरले राम्रो शुरुवात दिए, तर ठूलो इनिङ खेल्न सकेनन्। यी दुईबीच ३१ रनको ओपनिङ साझेदारी भयो। यशस्वी जयसवालले २२ र जोस बटलरले ३९ रन बनाए। कप्तान स्यामसन र पडिकलले गतिलो स्कोर गर्न सकेनन्।

टप अर्डर आउट भएपछि मिडल अर्डर पूरै धराशायी भयो। दुई ओपनरबाहेक अन्य कुनै पनि ब्याटरले १५ प्लस रनको स्कोर बनाउन सकेनन्। यसलाई पनि अर्को शंकाका रुपमा राजस्थानको फिक्सिङका रुपमा हेरिएको छ।

बटलरको विकेट

प्रतियोगिताभरि सर्वाधिक धेरै रन बनाउने जोस बटलरले फाइनलमा ठूलो इनिङ खेल्न सकेनन्। बटलरले आइपिएलको जारी सिजनमा ८६३ रन बनाएका छन्। जसमा ४ शतक र ४ अर्धशतक समावेश छन्। तर फाइनलमा टिम र समर्थकले उनीसँग ठूलो इनिङको अपेक्षा गरेका थिए।

समर्थकले उनलाई ढिलो इनिङ खेलेको र अर्धशतक पनि प्रहार गर्न नसकेको आरोप लगाउँदै मिलेमतोको आशंका गरेका छन्। उनले क्रिजमा टिकेर समय बर्बाद बनाएर रन जोड्न नचाहेको आरोप लागेको छ। उनले ३५ बलमा ३९ रन बनाएका थिए। उनको ३९ रन नै राजस्थानका लागि सर्वाधिक व्यक्तिगत स्कोर थियो। 

चहलको क्याच ड्रप

फाइनलमा यजुर्वेन्द्र चहलको ‘क्याच ड्रप’ पनि सर्वाधिक चर्चा र विवादमा रहेको छ। चहलले दोस्रो इनिङको पहिलो ओभरमा नै शर्ट फाइनल लेगमा शुभमन गिलको सहज क्याच ड्रप गरिदिए। जबकी जीवनदान पाएपछि गिलले गुजरातका लागि सर्वाधिक ४५ रन बनाए। उनले नै छक्का प्रहार गर्दै टिमको जित निश्चित गरे। उक्त सहज क्याच ड्रपलाई पनि समर्थकले फिक्सिङको अर्को आधारका रुपमा ब्याख्या गरेका छन्।

अश्विनको इकोनोमी, परागको फिल्डिङ

रविचन्द्रन अश्विनले फाइनल खेलमा १० दशमलव ६६ को इकोनोमीमा बलिङ गरे। उनले ३ ओभरमा ३२ रन खर्चिएका थिए। जबकि उनले एक विकेट पनि लिन सकेनन्। महत्त्वपूर्ण र निर्णायक खेलमा अश्विनसँग यो अपेक्षा थिएन। साथै उनले फिल्डिङ पनि खराब गरेका थिए। साथै रेयान परागले समेत फिल्डिङमा सहज देखिने गल्ती दोहोर्‍याइरहेका थिए।