काठमाडौँ : स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका सञ्चारकर्मीहरूलाई नेपाल पत्रकार महासंघले पदमुक्त गरेको छ । महासंघको केन्द्र, प्रदेश र शाखाको पदाधिकारी तथा कार्यसमिति सदस्यहरू स्वतः पदमुक्त हुने भएकाले विधानको व्यवस्थाअनुसार गर्न गराउन निर्णयसमेत बैठकले मातहतका प्रदेश र जिल्ला शाखालाई निर्देशन दिएको छ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिअनुसार महासंघको सदस्यता लिएका करिब २०० जना पत्रकारले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये ८१ जना निर्वाचितसमेत भएका छन्।
बैठकले निर्वाचनमा उम्मेदवारी दिनका लागि महासंघको विभिन्न तहबाट राजीनामा दिएका दुई केन्द्रीय सदस्यसहित ३० सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ।
स्थानीय तहको निर्वाचनमा महासंघका साधारण सदस्यहरूले पनि उम्मेदवारी दिएको हकमा विधानमा व्यवस्था भएअनुसार आचारसंहिता तथा अनुगमन विभागमार्फत प्रक्रिया पनि थाल्ने निर्णय गरेको छ।
स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाललगातका निकायहरूको भूमिकाका बारेमा समीक्षा गर्दै बैठकले ती निकायहरूसँग छलफल गर्ने निर्णय गरेको छ । 