जेठ १७, २०७९ मंगलबार

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितका लागि हुने निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ। ६ असारमा तय भएको निर्वाचनसमेत हुने साधारण सभाका लागि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

समितिले १२ जेठमा उम्मेदवारको मनोनयन दर्ता गराएको थियो। एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेर मंगलबार अपरान्ह ५ः३० सम्म नामावली‍उपर दाबी तथा विरोध गर्न पाईने समय निर्धारण गरिएको छ।

१८ जेठमा निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। १९ जेठमा उम्मेदवारको योग्यता परीक्षणपश्चात प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले १९ जेठमा उम्मेदवारको प्रारम्भिक नामावलीउपर दाबी विरोधको समय राखेको छ। जेठ २० गते उम्मेदवारी फिर्ता र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ।

एन्फामा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्ग प्यानलसहित चुनावी प्रतिस्पर्धामा रहेका छन्।