काठमाडौँ । आज नेप्से परिसूचक ३५.५३ अंकले घटेर २,१३७.९२ विन्दुमा पुगेको छ । यो १७ महिनायताकै न्यून हो ।
यसअघि १७ महिनाअघि नेप्से २,०८७ विन्दुमा थियो। त्यसयता हालसम्म नेप्से २,१३७.९२ विन्दुमा आइपुगेको थिएन।
अघिल्लो दिन पनि नेप्से परिसूचक ५०.३३ अंकले घटेर २,१७३.४४ विन्दुमा पुगेको थियो। गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक अवधिको समीक्षा र आइतबार भएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा समेत लगानीकर्ताहरूले अपेक्षा गरेजस्तो नीतिहरू समावेश नहुँदा उनीहरू थप निरुत्साहित देखिन्छन्। यसले ओरालो लागेको नेप्से थप घट्न सहयोग पुगेको हो।
केही ब्रोकर कम्पनीहरू बजार तत्काल नबढ्ने अवस्थामा रहेकै बताउँछन् भने केही लगानीकर्ताहरू अहिलेको अवस्थामा सेयर 'होल्ड' गर्न उचित रहेको बताउँदै आएका छन्। बजारमा पुँजी अभावका कारण पनि बजार तत्काल नबढ्ने उनीहरूको अनुमान गरिरहेका छन्।
बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन एक अर्ब ३३ करोड ८८ लाख रूपैयाँ कारोबार भएकामा आज कुल २२९ धितोपत्र तथा ऋणपत्रको ३७ लाख ६९ हजार ८१२ सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार रूपैयाँ कारोबार भएको छ। आज २८ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १८९ वटाको मूल्य घटेको छ।
आज सबैभन्दा धेरै बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्थाको ८.२३ प्रतिशतले सेयर मूल्य बढेको हो। लघुवित्तको अघिल्लो दिन पनि ८.२३ प्रतिशतले सेयर मूल्य बढेको थियो। नेपाल इनभेस्टमेन्ट बैंकको भने आज सबैभन्दा धेरै ९.९८ प्रतिशतले सेयर मूल्य घटेको छ। अघिल्लो दिन पनि बैंकको ९.९९ प्रतिशतले सेयर मूल्य घटेको थियो।
आज कारोबारमा आएका १३ उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबैको मूल्य घटेको छ। म्युचल फन्डको पनि जम्मा ०.४५ प्रतिशतले बढेको हो। घट्नेमध्ये सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्सको २.५६ प्रतिशत, बैंकिङको १.९१ प्रतिशत र ट्रेडिङको १.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ५ करोड ३७ लाख ९८ हजार रूपैयाँको सेयर कारोबार भएको छ।
यसपछि नबिल बैंकको ३ करोड ९८ लाख ५२ हजार रूपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ६८ लाख २२ हजार रूपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३ करोड १३ लाख ३३ हजार रूपैयाँ र सिटिजल इनभेस्टमेन्ट ट्रस्टको ३ करोड २ लाख २६ हजार रूपैयाँको कारोबार भएको छ।