जेठ १७, २०७९ मंगलबार

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटविरुद्ध जेठ ३० गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले जेठ ३० गते समयसीमा तोकेको हो। 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ बमोजिम प्रहरी प्रधान कार्यालय, नक्सालको सहयोग लिई उपलब्ध हुन सके इमेल वा फ्याक्स वा अन्य विद्युतीय साधनबाट आजको मितिले ७ (सात) दिनभित्र म्याद तामेल गरी गराई थम्ने थमाउने म्याद नपाउने गरी ३ दिनभित्र लिखित जवाफ पेश गर्न लगाई मिति २०७९।०२।३० गते पेशी तोकी नियमानुसार पेश गर्नू।’ 

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गतेको मुद्दाको अन्तिम सुनुवाइ आजबाट हुने आदेश दिएको थियो। उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गर्ने र मिति सार्न नपाइने उल्लेख थियो। सरकारले आईजीपी​मा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआईजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।