जेठ १८, २०७९ बुधबार

काठमाडौँ । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमतिविना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षीय ईश्वर गाइजूलाई सरकारी जग्गा र व्यक्तिको निजी जग्गा अनुमतिविना बैना रकम लिई ठगी गरेको अभियोगमा शुक्रबार पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो ।

सोही घटनामा थप अनुसन्धान गर्ने क्रममा वडाध्यक्ष श्रेष्ठलगायतका व्यक्तिको संलग्नता देखिएको र उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरिएको परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

वडाध्यक्ष श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका थिए । अधिकारी र गाइजूसहितको टोलीले चाँगुनारायण नगरपालिका–८ मा सरकारी र अन्य व्यक्तिको नाममा रहेको जग्गा जग्गाधनीको अनुमतिविना बिक्रीका लागि बैनाबापत करारनामा गरी पाँच करोड २० लाख रूपैयाँ ठगी गरेको भन्दै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राईले जाहेरी दिएका थिए ।