जेठ १८, २०७९ बुधबार

काठमाडौं- १९ वर्षमुनिको एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली बुधबार मलेसिया जाँदैछ। छनोट खेलमा सहभागी हुन जाने १४ खेलाडी, प्रशिक्षक र चारजना अफिसियललाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नै कार्यक्रम गरी विदाइ गरेको छ।

छनोट खेल मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म हुनेछ। एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ । छनोटमा नेपालसँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन्।

नेपालले पहिलो खेल जेठ २० मा कतारसँग खेल्नेछ। आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला १९ बर्षमुनिको विश्वकप सन् २०२३ जनवरीमा दक्षिण अफ्रिकामा हुँदैछ। 

टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ।विश्वकपमा छनोट हुन नेपाली टोलीले मलेसियामा आयोजना हुने यू–१९ एसिया छनोटमा राम्रो प्रदर्शन गर्न चाहन्छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले छनोटमा शीर्ष स्थान हासिल गर्दै विश्वकपमा छनोट हुने लक्ष्य लिएको बताए। यसका लागि नेपाली टोलीले एक महिनाअघिदेखि तयारी गरिरहेको थियो।