चैत १६, २०७७ सोमबार

सेनाको ज्यादतीका कारण शनिबार एकै दिन ११४ जना भन्दा धेरैको ज्यान गएपछि म्यानमारका बासिन्दा शोकमा छन्।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर सेनाले शक्ति आफ्नो हातमा लिएको थियो। त्यसपछि लगातार सैनिक कू विरुद्ध प्रदर्शन हुँदै आएको छ।

त्यस क्रममा शनिबार एकै दिन ११४ जना भन्दा बढिको ज्यान गएको हो। सेनाले बालबालिकासहितको हत्या गरेको हो । मारिनेमा केही प्रदर्शनमा सहभागी हुन् भने अरुलाई आफ्नै घरमा रहेका बेला मारिएको हो।

सर्वसाधारण मारिएको खुशीमा सेनाका जनरलहरुले पार्टी गरेको खबर पनि आएको थियो । सेनाको नेतृत्वले खुशीयाली मनाइरहँदा म्यानमारभर सर्वसाधारण भने शोकमा छन् । उनीहरुले शनिबारको घटनामा ज्यान गुमाएकाहरुलाई झरेका तारा भनेका छन्।

गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो।

निगरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स ९एएपिपी० का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन्।

म्यानमारको मध्य क्षेत्रको शहर मिइङ्गयानका बासिन्दा थु या जावले समाचार संस्था रोयटर्सलाई भनेका छन्, ‘उनीहरुले हामीलाई चरा वा कुखुरा जसरी मारिरहेका छन्। हामी घरमै हुँदा पनि मारिरहेका छन् । तर हामीले प्रदर्शन जारी राख्ने छौँ।’

म्यानमारका सैनिक प्रमुख जनरल मिन आङ लाइङले सैनिक दिवसको अवसरमा गरेको सम्बोधनको क्रममा शनिबार प्रजातन्त्र पुनर्स्थापित गर्ने वाचा गरेका थिए। तर उनले चेतावनी दिँदै प्रदर्शनकारीलाई अस्वीकार गर्ने बताएका थिए।

सोही दिन ठूलो संख्यामा प्रदर्शनकारीको हत्या भएको हो । अमेरिका, बेलायत तथा युरोपेली युनियनका अधिकारीहरुले हिंसाको निन्दा गरेका छन्।

एएपिपीका अनुसार ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो क्रममा छ। म्यानमारमा फेब्रुअरी १ यता ज्यान गुमाउनेको संख्या ४०० नाखेको छ।
एजेन्सी