वायु प्रदूषण कम हुनका लागि चाहिने वर्षाका लागि कम्तीमा मंगलबार अपरान्हसम्म पर्खिनु पर्ने देखिएको मौसमविद्ले बताएका छन् ।
विशेष गरि काठमाडौँ उपत्यकामा गएको शुक्रबार दिउँसोदेखि वायुमण्डलमा देशमा विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण धुँवा मिसिँदा वायु प्रदूषण उच्च तहमा रहँदै आएको छ। लगातार चौथो दिन सोमबार पनि वायुको गुणस्तर निकै कम छ।
मौसमविद्भन्छन, ‘हिउँदमा कम वर्षा हुँदा वायुमण्डलमा धुलोका कण अधिक भएको थियो। त्यसमाथि डढेलोका कारण धुँवा मिसिँदा निकै समस्या भएको छ। यो प्रदूषित वायु बढार्नका लागि हावाको गति बढेर पानी पर्नु पर्छ।’
‘अहिलेसम्मको मौसमी गतिविधि हेर्दा आजै हावाको गति बढ्ने र प्रदूषण कम गर्ने गरि पानी पर्ने सम्भावना छैन’ मौसमविद् भन्छन, ‘मंगलबार अपरान्हदेखि पश्चिमी वायुको गति बढ्ने र पानी पर्ने सम्भावना छ। त्यसपछि प्रदूषण केही कम हुन सक्ने छ।’
सोमबार अपरान्हपछि पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहे पनि वायु प्रदूषण नै कम गर्ने मौसमी प्रणाली सक्रिय भने नरहेको बताउछ्न ।
प्रि–मनसुन सुरु भए पनि सक्रिय हुन सकेको छैन भने यो वर्ष हिउँदमा पनि वर्षा भएन। त्यसले गर्दा वायुमण्डलमा धुलोका कणहरु पहिलेदेखि नै थिए। खडेरीका कारण देशभरका जंगलमा डढेलोका घटना बढ्दा धुँवा वायुमण्डलमा मिसिएर प्रदूषणको तह खराब अवस्थामा पुगेको वातावरणविद्ले बताएका छन्।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत वायु प्रदूषणका कारण बढेको जोखिमबाट बच्नका लागि अत्यावश्यक बाहेकका अवस्थामा घर बाहिर ननिस्कने, निस्कनै परे मास्क तथा चश्मा लगाउने, सवारी साधनको प्रयोग कम गर्न अपिल गरे पनि यसबाट आइलागेको असहज अवस्था र कारण निराकरणका लागि भने खासै प्रयास गरेको देखिँदैन।
आइक्यूएअरका अनुसार काठमाडौँ उपत्यकाको एक्यूआई सोमबार बिहान २२३ छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ।
यसैगरि नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपद्को अवस्था मानिने छ।