जेठ १९, २०७९ बिहिबार

नेपाल विद्युत् प्राधिकरणले बढी भएको बिजुली बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बेच्न थालिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् ।

‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेका छौँ,’ प्रवक्ता भट्टराईले भने,‘एक-दुई दिनमा अरू आयोजनाको बिजुली पनि पठाउँछौँ।’

बर्खायाम सुरू भएसँगै नेपालका नदीहरूमा पानीको सतह बढेर बिजुली उत्पादन बढेपछि मागभन्दा धेरै उत्पादन भएको हो।

भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली बेच्न नेपाललाई स्वीकृति दिएको थियो।

भारतले एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।

प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को ५२.४ मेगावाटको लिखु-४बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्छ।

प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औसतमा नेपालले प्रतियुनिट  ६ रुपैयाँ ३० पैसा भारूमा बिजुली बेचेको बताए।

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत् निर्यात हुन्छ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।