जर्मनीको रक्षा मन्त्रालयले युक्रेनलाई दिने भनिएको हतियारको विस्तृत विवरण उपलब्ध गराउन नसक्ने बुधवार बताएको छ ।
चान्सलर ओलाफ शोल्जले युक्रेनलाई हवाई रक्षाप्रणाली उपलब्ध गराउने प्रतिज्ञा गरेका थिए । तर जर्मनीसँग त्यस्तो हतियार नै भण्डारमा नरहेको बताइएको छ ।
उक्त हतियारको नाम आईरिस–टी हो । यसअन्तर्गत छोटो दूरीको आकाशबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र वा भुइँबाट आकाशमा प्रहार गर्ने छोटो दूरी वा मध्यम दूरीको हवाई रक्षा प्रणाली दुवै पर्छ ।
कुन चाहिँ हतियार किएभलाई उपलब्ध गराउन खोजेको भनी पत्रकारले प्रश्न सोध्दा जर्मन रक्षा मन्त्रालयका प्रवक्ता डेभिड हेल्मबोल्डले बताए, ‘यो प्रश्न रक्षा उद्योगलाई सोध्नुपर्छ किनकि हामीसँग अहिले यो हतियार छैन ।’
यसअघि जर्मनीका चान्सलर शोल्जले युक्रेनलाई आईरिस टी प्रणाली र काउन्टर ब्याट्री रेडारहरू उपलब्ध गराउने योजना रहेको बयान संसदमा दिएका थिए ।