फागुन ७, २०७७ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र दिवस

आज राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो । समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् । सरकारले बिहान साढे ९ बजे काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्री र उच्च अधिकारी सहभागी हुनेछन् । 

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।