जेठ १९, २०७९ बिहिबार

हेटौंडा- शहीद स्मृति स्थानीय तह अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब सिमरा विजयी भएको छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबार हेटौंडामा शुरु भएको अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताको उद्घाटनमा सर्लाहीको बागमती युवा क्लबलाई २–० गोलले हराउँदै सिमरा विजयी भएको हो।

सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल गरेका थिए। खेलको आठौं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लिएको थियो। ८० औं मिनेटमा कृपाकान्तले अग्रता दोब्बर बनाए। सर्लाहीले खेलमा केही राम्रा अवसर पाएको भएपनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भयो।

खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए। उनले नगद १० हजार र ट्रफी प्राप्त गरेका छन्। ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगितामा भोलि शुक्रबार बिएफसी भरतपुर र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा नव जनजागृति र बागमतीसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ९एपिएफ० क्लब, मनाङ मर्याङ्दी, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बिएफसी चितवन, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेका छन्।