जेठ २०, २०७९ शुक्रबार

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्दुकबाट अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कंग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने उनको भनाइ छ।  देशमा भएका श्रृखंलाबद्ध गोलीकाण्ड भएपछि राष्ट्रपति बाइडेनको उक्त भनाइ आएको हो।

ह्वाइट हाउसबाट बोल्दै उनले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न पनि आह्वान गरे। उनले खतरनाक र धेरै क्षमताका बन्दुकहरू सामान्य मानिसलाई आवश्यक नपर्ने पनि बताए।  

गत हप्ता एक बन्दुकधारीको आक्रमणबाट १९ स्कुले बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो। हिजो मात्रै एक मेडिकल सेन्टर अगाडी बन्दुकधारीले गोली चलाउँदा ४ जनाले ज्यान गुमाएका थिए।